1517479214361_HB_Pkr_20140402_padhabahali

पोखरा, १८ माघ :  प्रदेश सरकार (प्रदेश नं ४)का प्रमुख सचिव लक्ष्मण अर्यालले आज पद बहाली गर्नुभएको छ ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच अर्यालले पद बहाली गर्नुभयो ।

पद बहाली कार्यक्रममा पोखरास्थित विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारीका साथै सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रदेश नं ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (प्रशासन तथा बैठक शाखा हेर्ने) का सचिव लालमणि ओझा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले पनि आजै पद बहाली गर्नुभयो ।

पद बहाली कार्यक्रममा प्रमुख सचिव अर्यालले संविधानको कार्यान्वयन र संघीयताको व्यवस्थापन गर्नु अहिलेको आवश्यकता भएको बताउँदै उक्त जिम्मेवारीलाई पूरा गर्न लगिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रमुख सचिव अर्यालका अनुसार प्रदेश नं ४ मा मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय एउटै भवनमा रहने छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा राख्न लागिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वन कार्यालयको नवनिर्मित भवनमा राखिनेभएको छ ।

त्यस्तै, सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राख्ने तयारी गरिएको छ भने भूमि, कृषि तथा सहकारी मन्त्रालय सहकारी डिभिजन कार्यालयमा राख्ने गरी तयारी गरिएको छ ।

अन्य मन्त्रालयका सचिव आउने क्रममा रहेको प्रमुख सचिव अर्यालले जानकारी दिनुभयो ।(रासस) 

Similar Posts